ऊर्जा मन्त्री कुलमान घिसिङको स्पष्टीकरण : ‘कुनै पार्टीमा आबद्ध हुने छलफल भएको छैन’
६ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
हालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूले घिसिङलाई उज्यालो नेपाल पार्टी सँग जोड्दै सो पार्टीको अध्यक्ष बनाउन लागिएको भन्दै समाचार प्रकाशित गरेका थिए। सो विषयमा मन्त्री घिसिङले विज्ञप्ति जारी गर्दै ती समाचारहरू पूर्णतः असत्य र मनगढन्ते भएको बताएका छन्।
‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहेको स्पष्ट पार्दछु।’
उनले आफूलाई कुनै छलफल वा सल्लाहबिना तथ्यहीन रूपमा राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्। ‘दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु,’ मन्त्री घिसिङले भनेका छन्, ‘र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।’
मन्त्री घिसिङ हाल ऊर्जा क्षेत्रको सुधार, विद्युत् निर्यात र सिँचाइ विस्तारका विषयमा केन्द्रित रहेको र आफ्नो कामलाई राजनीतिक रंग दिने प्रयास अनुचित भएको उनले बताएका छन्।