मानव अधिकार आयोगद्वारा व्यवसायी दुर्गा प्रसाईंसँग छलफल: आन्दोलन हिंसात्मक नबनोस् चेतावनी
काठमाडौँ। मानव अधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंसँग बुधबार छलफल गरेको छ। आयोगले चैत १५ र भदौ २३–२४ को हिंसात्मक आन्दोलनको अनुभवलाई ध्यानमा राख्दै आगामी आन्दोलनमा यस्तो नदोहरियोस् भनी सचेत गराउन बैठक बसेको हो।
छलफलमा आयोगका अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी प्रसाद खरेल र अन्य पदाधिकारी सहभागी थिए। प्रसाईंसँग झण्डै एक घण्टा कुराकानी भएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।
प्रसाईंले आफूले आह्वान गर्ने आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता व्यक्त गरेको बताए। उनले आगामी मंसिर ७ गतेबाट देशव्यापी आन्दोलन गर्ने तयारी रहेको बताए तर सुरक्षाकर्मी र निजामती कर्मचारीलाई घरमै बस्न आग्रह गरे।
आयोगका प्रवक्ता पोखरेलले भने कि आयोगले कुनै मागमा समर्थन वा ऐक्यबद्धता जनाएको छैन। उनले स्पष्ट पारे, “हामीले जसले जे माग राखेर आन्दोलन गरेपनि हिंसात्मक हुनुहुँदैन भन्नेमा मात्र सचेत गराउने काम गरेका हौँ।”
आयोगले आगामी दिनमा सुरक्षा निकायसँग पनि छलफल गर्ने तयारी गरिरहेको छ।