अरिङ्गालको टोकाइबाट ८२ वर्षीय वृद्धको मृत्यु
लमजुङको बेंसीशहर नगरपालिका–११ तिवारीडाँडामा आइतबार साँझ अरिङ्गालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ।
८२ वर्षीय यज्ञनिधि तिवारीलाई आइतबार साँझ साढे ५ बजेतिर बाटोमा हिँड्दै गर्दा एक्कासी अनगिन्ती अरिङ्गालले टोकेका थिए। शरीरका विभिन्न भागमा चिलेर गम्भीर घाइते भएका उनलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल, बेंसीशहर पुर्याएका थिए।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो। उपचारकै क्रममा सोमबार बिहान साढे ४ बजे तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिएका छन्।
उनका अनुसार घर नजिकैको बाटोमा हिँड्दै गर्दा तिवारीलाई एकै पटक धेरै संख्यामा अरिङ्गालले चिल्दा उनी बेहोसजस्तै भएका थिए। गम्भीर अवस्थामा रहेका तिवारीको प्रयास गर्दा पनि ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।