गुण्डुबाट एमालेले दियो सरकारसँग भिड्ने सन्देश
काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ताबाट बढारिएको एमालेले अन्तरिम सरकार र यसका कदमविरुद्ध सडकमा उत्रिने स्पष्ट सन्देश दिएको छ । जेनजी आन्दोलन भएको ठीक एक महिना पुगेको दिन ओलीले भक्तपुरको गुण्डुबाट वर्तमान सत्ता नेतृत्व र आन्दोलनपछिको राजनीतिक बाटोप्रति नै गम्भीर प्रश्न मात्र उठाएनन् यसको प्रतिवाद गर्ने घोषणा गरे ।
नेपाली सेनाको सुरक्षा घेरमा १० दिन बसेर बाहिरिएपछि पार्टीका नेताहरुसँग आन्तिरक कुराकानी गरिहेका ओलीले बिहीबार मञ्चबाटै आफ्नो विगतकै शैलीमा राजनीतिक कटाक्षयुक्त भाषण गरे । उहाँबाट उनले वर्तमान सरकार, सरकारले बनाएको जाँचबुझ आयोग, संसद् विघटन र आफ्नो पासपोर्ट रोक्का लगायतका विषय अस्वीकार गर्ने घोषणा गरेका छन् ।
भक्तपुरको गुण्डुमा पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगलाई पूर्ण रुपमा अस्वीकारको घोषणा गरेका छन् । यो आयोगमा ओलीलाई मानवताविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने भन्दै जेनजी आन्दोलनका मृतक परिवारले दिएको जाहेरी प्रहरीले पठाइसकेको छ ।
अहिलेको सरकार निर्वाचन गराउने उद्देश्यले नबनेको दाबी गरेका ओलीले आफूहरू संसद् पुनर्स्थापनाको माग अघि बढाउन फागुन २१ नकुर्ने समेत बताए ।
ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । साथै, उनले अहिलेको सरकार र संसद् विघटनका दुवै कार्य असंवैधानिक भएको जिकिर समेत गरे ।
‘…समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’
प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि विश्वास गरे । ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने ।
सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्यो ? कहाँबाट प्राप्त गर्यो ?,’ उनले भने ।
संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । ‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो,’ ओलीले भने, ‘मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’
तर राजनीतिक दलहरूलाई पन्छाएर वार्ता गर्ने, सरकार बनाउनेदेखि संसद् भंग गर्ने काम गरिएको ओलीले बताए । ‘वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अर्कैले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ ? राजनीतिक दलहरू वार्तामा नबस्ने ?,’ ओलीले भने । प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनको अपेक्षा छ ।
जाँचबुझ आयोग नमान्ने घोषणा
ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने पनि बताएका छन् ।
यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने ओलीको भनाइ छ । ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने’, ओलीले भने, ‘यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन ।’
सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ ।
जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।
‘तर तपाईंहरुले बुझ्नुस् नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथियो । एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ?’ ओलीले भने ।
सरकारलाई चेतावनी
ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने पनि बताए ।
उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न भने ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने,देश चलाउने ख्याल ठट्टा होइन ।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।
‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’
वर्तमान सरकार बलमिच्याइँले बनेको हो
ओलीले गत २३ र २४ भदौमा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकार संवैधानिक नभएको र बलमिच्याइँले बनेको पनि आरोप लगाएका छन् ।
‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भनेका छन्, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’
संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएको समेत उनको भनाइ थियो ।
‘शपथ गरेर, तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु । त्यो सिफारिस लागू गर्नुपर्छ, संसद् भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु, नत्र देशमा जेनजीले आगो बाल्छ,’ ओलीले भने ।
उनले पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने जिकिर गरे ।
‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । उहाँलाई राम्ररी थाहा छ, नेपालको संविधानको उहाँ व्याख्या गरेर आउनुभएको व्यक्ति हो,’ उनले भने ।
महासचिव पोखरेलको धारणा पनि ओलीको जस्तै
ओलीले संलग्न भएको बिहीबारको कार्यक्रम पार्टीको धारणा नै बाहिर ल्याउने उद्देश्यले आयोजना गरिएको देखिन्छ । त्यहाँबाट महासचिव शंकर पोखरेलले पनि ओलीकै शैलीमा सरकार र अहिलेका राजनीतिक गतिविधिमाथि कडा टिप्पणी गरे । उनले पनि अहिले हुन लागेको चुनावलाई २०६९ असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गराएको चुनावसँग तुलना गरे ।
‘जबर्जस्ती गरिने चुनाव असोज १८ पछि पूर्व जाराले गरेको नाटक जस्तै हुन्छ’ र राजनीतिक वातावरण बन्द नभएसम्म चुनाव मान्यता पाउँदैन’, महासचिव पोखरेलले भने, ‘चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातावरण बनाउनुपर्ने र प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निलँदासम्म चुनाव हुन सक्दैन।’
उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातावरण बनाउनुपर्ने बताए । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा निलँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’ उनले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोजिएको दाबी गरे ।
उनले जेनजीलाई पश्चिमाले थोपरिदिएको परिचय भएको टिप्पणी गरे । ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, पोखरेलले भने । पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए ।
‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।