मनास्लु क्षेत्रमा चेक पर्यटकमाथि पहिरो, उद्धारमा कठिनाइ
१४ कात्तिक, काठमाडौं । मनास्लु पदमार्गमा एक विदेशी पर्यटकमाथि पहिरो खस्दा ज्यान गुमाउने आशंका गरिएको छ।
गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याक फेदी नजिकै शुक्रबार दिउँसो करिब २ बजे खसेको पहिरोमा चेक गणराज्यकी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन्।
घटनाको बेला रस्कोभा आफ्ना श्रीमान् र नेपाली गाइड रमेश भट्टसँगै यात्रा गरिरहेकी थिइन्। गाइड भट्टका अनुसार उनीहरू काठमाडौंस्थित नेपाल निर्भाना ट्रेल्स ट्रेकिङ कम्पनीमार्फत् गत ३० असोजमा मनास्लु पदमार्ग हुँदै लार्के पासतर्फ गएका थिए। तर प्रतिकूल मौसमका कारण १२ कात्तिकमा सामागाउँबाट फर्किने क्रममा उनीहरू पहिरोमा परेका हुन्।
डीएसपी श्रेष्ठले बताए अनुसार बाटोमाथिबाट एक्कासि ढुंगा र माटोसहितको लेदो खस्दा रस्कोभा पुरिएकी हुन्। उनका श्रीमान् र गाइड भने सकुशल रहेका छन्।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी सिर्दिवासबाट उद्धार टोली घटनास्थलतर्फ गएको भए पनि थप पहिरो खसिरहेका कारण उद्धार कार्य कठिन भएको प्रहरीले जनाएको छ।
डीएसपी श्रेष्ठले भने,
“घटनास्थलभन्दा करिब २० मिनेट टाढा पुग्दा पनि बाटो बन्द भएको छ। माथिबाट लगातार ढुंगा र माटो खसिरहेका कारण टोली घटनास्थल पुग्न सकेको छैन।”
प्रहरीका अनुसार मौसममा सुधार आएपछि मात्रै उद्धार कार्य अघि बढाइनेछ।