तिहारमा ट्राफिक प्रहरीको सक्रियता : १९९ जना मापसे चालक कारबाहीमा
काठमाडौं — जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा भने ट्राफिक प्रहरीले सक्रियता बढाएको देखिएको छ। प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वका दिन ठूलो सवारी दुर्घटना हुन नपाएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तिहारको दिन काठमाडौं उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटनाका घटना दर्ता भएका छन्। उनले भने, “ट्राफिक प्रहरी प्रमुखसहितको टोली तिहारको दिन सडकमा खटिएको थियो। प्रहरीको सक्रियताकै कारण कुनै मानवीय क्षति हुन पाएन।”
सुवेदीका अनुसार तिहारको अवधिमा १९९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका छन्। ती दुर्घटनाहरूमा १५ जना व्यक्ति सामान्य घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले चाडपर्वको समयमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको जानकारी दिए। उनका अनुसार भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की र चाबहिल जस्ता व्यस्त क्षेत्रहरूमा प्रहरी टोलीहरू निरन्तर सवारी साधन व्यवस्थापनमा खटिएका थिए।
“भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो — नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,” प्रहरी प्रमुख अधिकारीले टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै भने। उनले थपे, “चाडपर्वका बेला सवारी दुर्घटना र मापसेका घटना बढ्ने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ।”