शारदामा मेयर र डिएसपी आफैं ढुंगा बोक्दै विद्यालय पुनर्निर्माण
सल्यान। “जनताकै हातमा विकास” भन्ने अभियानलाई व्यवहारमा उतार्दै शारदा नगरपालिकाको नेतृत्वले एक प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छन । नगर प्रमुख प्रकाश भण्डारीको अगुवाइ र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेम बहादुर केसीको नेतृत्वमा प्रहरी, जनप्रतिनिधि, शिक्षक तथा स्थानीयवासीहरू मिलेर शारदा नगरपालिका- ११ तल्लो स्यालास्थित बाल कल्याण आधारभूत विद्यालयको नयाँ ५ कोठे भवन निर्माणको काम जनश्रमदानबाट सुरु गरेका छन्।
अभियानमा नगर प्रमुख भण्डारी र प्रहरी प्रमुख डा. केसी स्वयंले ढुंगा बोक्ने, ट्याक्टर चलाउने र ढुंगा फाल्ने कार्यमा सहभागी भएर स्थानीयको मन जितेका छन्। स्थानीयले दुबै प्रमुखलाई “जनताको सच्चा सेवक” भनेर मुक्तकण्ठले प्रशंसा गरेका छन्।
पुरानो भवन जीर्ण, विद्यालय मर्ज हुन लागेको अवस्थामा नयाँ जीवन
बाल कल्याण आधारभूत विद्यालय लामो समयदेखि जीर्ण अवस्थामा रहेको र मर्ज (अर्कै विद्यालयमा गाभिने) हुने तयारीमा रहेको बेला नयाँ भवन निर्माण सुरु भएपछि स्थानीयवासी र शिक्षकहरुको उत्साह थपिएको छ ।
विद्यालयका शिक्षकहरूका अनुसार, “विद्यालय मर्ज हुनुपर्ने अवस्था थियो, तर मेयर र प्रहरी प्रमुखको पहलले नयाँ भवन बन्न थालेपछि समुदायमा जनप्रतिनिधी र प्रहरीप्रती गहिरो सद्भाव देखियको छ।”
नगरप्रमुख भण्डारी आफैं ढुङ्गा बोक्छ्न दिनभर उनको नेतृत्वमा विकासका फरक आयाम
नगर प्रमुख प्रकाश भण्डारीको नेतृत्वमा शारदा नगरपालिका पछिल्ला वर्षहरूमा निरन्तर सुधारका मार्गमा अघि बढिरहेको छ। उनले यसअघि पनि अनाथ बालबालिकाका लागि आवासीय विद्यालय स्थापना, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग, विद्यालय भवन, खानेपानी, स्वास्थ्य चौकी र आन्तरिक सडक सुधारजस्ता काममा विशेष प्राथमिकता दिएका छन्। भण्डारीले शिक्षा क्षेत्रलाई नगरको मेरुदण्ड मानेका छन्। नगरप्रमुख भन्छन, “शिक्षा नै दिगो विकासको आधार हो। जनश्रमदान र सामूहिक सहयोगले नगरका हरेक विद्यालयलाई बलियो बनाउन सकिन्छ।”
सल्यान प्रहरी प्रमुख डा. हेम केसी आफै फिल्डमा ढुङ्गा बोक्दै सबै प्रहरी परिचालनले उनको मानबियताको सर्बत्र चर्चा
जिल्ला प्रहरी प्रमुख डा. हेम बहादुर केसीले पनि आफ्नो पदको जिम्मेवारी मात्र नभई सामाजिक उत्तरदायित्वलाई सँगै जोड्दै आएका छन्। उनले विगतमा असहाय र विपन्न परिवारका लागि घर निर्माण सहयोग, बाटो मर्मत, सडक सरसफाइ अभियान, र सुरक्षासँगै सामाजिक चेतना कार्यक्रमहरू सञ्चालन गरेर प्रहरीप्रति जनविश्वास बढाएका छन्।
प्रहरी प्रमुख केसि भन्छन, “हामी केवल सुरक्षा दिनका लागि होइन, समाजलाई सशक्त बनाउनका लागि पनि जिम्मेवार छौं। जनताको हरेक सुख–दुःखमा सधैं सँगै रहन्छौं।” उनको नेतृत्वमा प्रहरी टोलीले यस पटक विद्यालय पुनर्निर्माणमा समेत सहभागिता जनाएर समुदायसँगको सम्बन्ध अझ मजबुत पारेको छ।

स्थानीयको मनोबल बढाउँदै सामूहिक विकासको उदाहरण
विद्यालय भवन निर्माणमा स्थानीयवासी, शिक्षक र विद्यार्थीहरूको उत्साह उल्लेखनीय छ। स्कुलका प्रधानाध्यापक सुमन घिमिरेका अनुसार, नगर प्रमुख र प्रहरी प्रमुख स्वयंले ढुंगा बोक्दै काम गरेपछि समुदायको मनोबल उच्च भएको छ र सबैले यस कार्यलाई “साँचो विकास”को रूपमा लिदै सबैको मनोबल उच्च भयको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने,
“सरकारका उच्च जिम्मेवार व्यक्तिहरू आफैं श्रमदानमा उत्रिनु दुर्लभ कुरा हो। यसले समुदायमा सहयोग र आत्मविश्वास बढाएको छ।” शारदा नगरपालिकाले आगामी दिनमा थप जनमूलक कार्यक्रममा जनश्रमदान र सामुदायिक सहकार्यमा आधारित विकास कार्यक्रमहरू सञ्चालन गरेमा स्थानियको दर्बिलो साथ मिल्ने बताए ।
नगर प्रमुख भण्डारीले भने “नगरलाई आत्मनिर्भर र शिक्षामैत्री बनाउने हाम्रो लक्ष्य हो। यस अभियानमा प्रहरी, शिक्षक र स्थानीय सबैसँगै छौं।” शारदा नगरपालिकाको यो पहलले जनप्रतिनिधि र सुरक्षाकर्मीको सहकार्यले कसरी समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने स्पष्ट उदाहरण दिएको छ।
