जेन-जी आन्दोलनका सहिद सन्तानलाई काठमाडौं युरो स्कुलले पूर्ण छात्रवृत्ति दिने
गोंगबु–बनियाँटारस्थित काठमाडौँ युरो आईबी वर्ल्ड स्कुलले जेन-जी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा पढाउने गर्ने घोषणा गरेको छ ।
विद्यालयले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको परिवारका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मान स्वरूप यस्तो घोषणा गरिएको हो ।
‘शिक्षा नै सशक्तीकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।