हायात होटलमा कर्मचारीलाई प्रवेशमा रोक, अस्थायी र करार श्रमिक गेटमै फर्काइए
काठमाडौं, कात्तिक ९ — राजधानीस्थित पाँचतारे हायात होटलमा आजदेखि कर्मचारीहरूको प्रवेशमा रोक लगाइएको छ। होटल प्रशासनले पुनर्निर्माणका कारण होटल बन्द गर्ने निर्णयसँगै कर्मचारीहरूलाई भित्र पस्न नदिएको हो।
होटलमा कार्यरत स्थायी, अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीमध्ये स्थायी कर्मचारीलाई मात्र परिचयपत्र देखाएर पार्किङ क्षेत्रसम्म प्रवेश अनुमति दिइएको छ। तर अस्थायी, करार र दैनिक ज्यालादारी मजदूरहरूलाई गेटमै फर्काइएको कर्मचारीहरूले बताएका छन्।
पार्किङ क्षेत्रमा बसिरहेका स्थायी कर्मचारीहरू होटल व्यवस्थापनसँग वार्ताको प्रतीक्षामा छन्। तर अहिलेसम्म व्यवस्थापनले कुनै औपचारिक संवाद नगरेको उनीहरूको भनाइ छ।
एक कर्मचारीले भने, “हामीलाई होटल भित्र जान दिइएको छैन। अहिले पार्किङ एरियामै छौं। खानेपानी र शौचालयजस्ता न्यूनतम सुविधा पनि छैन। वार्तामा बोलाउने खबरको प्रतीक्षा गर्दैछौं।”
होटल प्रशासनले कात्तिक २ गते सूचना जारी गर्दै होटल जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण बन्द रहने जानकारी दिएको थियो। व्यवस्थापनका अनुसार, मर्मत र पुनर्निर्माणका लागि १८ देखि २४ महिनासम्म समय लाग्ने अनुमान गरिएको छ।
तर मजदूरहरूले पुनर्निर्माणको नाममा श्रमिकलाई जबर्जस्ती निकाल्ने प्रयास भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, स्थायी कर्मचारीलाई बेतलबी रुपमा घर बस्न भनिएको छ भने अस्थायी र करार श्रमिकलाई कुनै क्षतिपूर्ति वा सुविधा बिना नै निष्कासन गरिएको छ।
होटल परिसरमा अहिले पनि केही कर्मचारीहरू वार्ताको माग गर्दै बसेका छन्। होटल प्रशासनले भने यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन।