तिहार लक्षित बिक्री: राष्ट्र बैंकले ४१० किलो चाँदी बिक्री, यसपटक सुनका असर्फी नबिक्री
२ कात्तिक, काठमाडौं — नेपाल राष्ट्र बैंकले यस वर्षको तिहार पर्वलाई लक्षित गर्दै हालसम्म ४ सय १० किलो चाँदी बिक्री गरेको छ। राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको आकृतियुक्त १०/१० ग्रामका चाँदीका सिक्का बिक्रीमार्फत यो परिमाणको चाँदी बिक्री भएको हो।
पछिल्लो समय सुनको मूल्यवृद्धि र सीमित आपूर्तिका कारण यस वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई सुनका असर्फी बिक्री गरेको छैन। टक्सार महाशाखाका अनुसार, सुनका नयाँ असर्फी नछापिएकाले बिक्री रोकिनु परेको हो।
गत वर्षको तुलनामा यसपटक चाँदीको बिक्री उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। विगत वर्ष धनतेरसका दिन राष्ट्र बैंकले ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो। त्यसक्रममा २.५ ग्रामका ४ हजार ५ सय २० थान सुनका असर्फी बिक्री भएका थिए।
तर, यसपालि सुनका सिक्का नपाएका उपभोक्ताहरूको ध्यान चाँदीतर्फ मोडिएको राष्ट्र बैंकको भनाइ छ। चाँदीका सिक्का सस्तो मूल्य, आकर्षक डिजाइन र धार्मिक महत्वका कारण लोकप्रिय भएको बताइएको छ।
राष्ट्र बैंकका अनुसार तिहारको मुख्य दिनहरूमा चाँदीका सिक्काको बिक्री अझै बढ्न सक्ने अनुमान गरिएको छ।