कांग्रेस पदाधिकारी बैठक बस्दै ,महाधिवेशन तालिकामै केन्द्रित छलफल
काठमाडौं, कात्तिक १४ —नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा मुख्यतः पार्टी महाधिवेशनको कार्यतालिका विषयमा छलफल हुने भएको छ।
बैठकमा महामन्त्री गगन थापाले तयार पारेको महाधिवेशन तालिका प्रस्ताव पेस गर्ने बताइएको छ।
यसअघि बिहीबारको बैठकमा कार्यवाहक सभापति पुर्णबहादुर खड्का तालिका पेस गर्न तयार नभएपछि महामन्त्री थापाले बैठक बहिष्कार गरेका थिए।
पार्टी स्रोतका अनुसार, आज बिहानको बैठकमा पनि सहमति नजुटेमा थापाले पुनः बैठक बहिष्कार गर्न सक्ने वा बैठकमा उपस्थित भएर सभापतिलाई समय मागी आफ्ना भनाइ राख्नेक्रममा नै तालिका सार्वजनिक गरेर बैठकबाट बाहिरिने तयारी गरेका छन्।
कांग्रेस नेतृत्वमा महाधिवेशनको मिति र तयारीबारे आन्तरिक मतभेद बढ्दै गएको अवस्थामा आजको बैठकलाई निर्णायक रूपमा हेरिएको छ।