रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना, तीन जनाको मृत्यु र चार गम्भीर घाइते
१२ कात्तिक, बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गाडीमा सवार गम्भीर घाइतेहरूमा चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको यात्रुवाहक ईभी गाडी मंगलबार राति करिब १०ः३० बजे रुद्रपुरतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।