एपेक बैठकमा चीनका राष्ट्रपति सी जिनपिङ केन्द्रमा, क्यानडा र जापानसँग वार्ता तय
काठमाडौं, कात्तिक १४ —दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङजुमा आजदेखि सुरु भएको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) वार्षिक शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रमुख आकर्षण बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुपस्थितिमा सीले जापान, क्यानडा र थाइल्यान्डका नेतासँग महत्वपूर्ण द्विपक्षीय वार्ता गर्दै छन्।
समाचार संस्था रोयटर्सका अनुसार, ट्रम्प दक्षिण कोरियाबाट प्रस्थान गर्नुअघि भएको सम्झौताले चीनको दुर्लभ खनिज निर्यातमा थप प्रतिबन्धहरू निलम्बन गर्ने सहमति भएको छ। यस कदमले विश्वव्यापी आपूर्ति शृङ्खलामा उत्पन्न संकटलाई केही हदसम्म न्यून गर्ने विश्वास गरिएको छ।
२१ सदस्यीय एपेक फोरमको यस वर्षको मुख्य एजेन्डा आपूर्ति शृङ्खलाको सुदृढीकरण, व्यापारमा सहजता र लगानी प्रवर्द्धन रहेको छ। यद्यपि, पछिल्ला वर्षहरूमा सदस्य देशहरूबीच सहमति जुटाउन कठिन भइरहेको अवलोकन गरिएको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उद्घाटन सत्रमा विश्वव्यापी आर्थिक अनिश्चितता र व्यापार प्रणालीमा आएको परिवर्तनले उत्पन्न चुनौतीहरूको सामना गर्न एकताको आवश्यकता औंल्याए।
अमेरिकी राष्ट्रपतिको अनुपस्थितिमा अर्थमन्त्री स्कट बेसन्टले अमेरिकाको तर्फबाट बैठकमा सहभागिता जनाएका छन्।
जिनपिङले जापानकी नयाँ प्रधानमन्त्री सानाए टाकाइचीसँग पहिलोपटक भेटवार्ता गर्ने तय भएको छ। टाकाइचीको राष्ट्रवादी धारणा र सुरक्षा नीतिले दुई देशबीचको सम्बन्धमा नयाँ जटिलता ल्याउन सक्ने अनुमान गरिएको छ। जापानले हालै आफ्नो सैन्य क्षमता विस्तार गर्ने नीति अघि बढाएको छ।
त्यस्तै, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सीसँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यो वार्ता क्यानडा–चीन सम्बन्धलाई पुनःसक्रिय गर्ने प्रयासका रूपमा हेरिएको छ। अघिल्ला वर्षहरूमा दुई देशबीच व्यापारिक तनाव, नागरिकको हिरासत र आयात प्रतिबन्धका कारण सम्बन्ध चिसिएका थिए।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चर्नभिराकुलले पनि दिउँसो सीसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले हालै कम्बोडियासँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरी शान्ति प्रक्रियामा भूमिका खेलेका थिए।
चिनियाँ राष्ट्रपति सी जिनपिङले बैठकमा संवाद र मेलमिलापको पक्षमा रहेको चीनको प्रतिबद्धता दोहोर्याउने अपेक्षा गरिएको छ।