राजनीतिक दलहरूले जेन–जीलाई विभाजित नगर्न चेतावनी : हामी नेपालका संयोजक सुदन गुरुङ
६ कात्तिक, काठमाडौं । हामी नेपाल का संयोजक सुदन गुरुङले पुराना राजनीतिक दलहरू जेन–जी (GenZ) आन्दोलनलाई कमजोर पार्ने प्रयासमा लागेको आरोप लगाउँदै जेन–जीहरूलाई विभाजित नगर्न चेतावनी दिएका छन्।
बिहीबार माइतीघर मण्डलमा जेन–जी आन्दोलनका शहीदहरू को सम्झनामा आयोजित सामूहिक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले राजनीतिक दलहरूले रणनीतिक रूपमा युवाहरूबीच फुट ल्याउने खेल सुरु गरेको दाबी गरे।
‘जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो,’ उनले भने, ‘तर उनीहरूलाई लागेको होला हामीले त्यो चाल बुझेका छैनौं। जेन–जीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’
उनका अनुसार केही नेताहरूले जेन–जी आन्दोलनको एकता भङ्ग गरेर युवाहरूलाई पुनः दलहरूको छातामुनि फर्काउने प्रयास गरिरहेका छन्। ‘हामीलाई कांग्रेस, एमाले वा कुनै दलमा बाँड्न खोजिँदैछ,’ उनले भने, ‘तर अब हामी सबै नेपाली भएर एउटै झण्डामुनि देश विकासका लागि एकजुट हुने छौं।’
गुरुङले थपे, ‘अहिले हामी (जेन–जीहरू)लाई छुट्याउनको लागि त नेपालीहरूलाई नै छुट्याउनुपर्छ। त्यो शक्ति उनीहरूसँग छैन।’
नेताहरूले जेन–जीका अगुवाहरूमाथि को राम्रो, को नराम्रो भन्ने भ्रम सिर्जना गरेर आन्दोलन कमजोर बनाउन खोजिरहेको आरोप लगाउँदै उनले भने, ‘नराम्रो हामी होइनौं, नराम्रो त ती नेताहरू हुन्, जसले दशौँ वर्षदेखि देश बिगारिरहेका छन्।’
गुरुङले नागरिकहरूलाई पनि अब सचेत भई सोच परिवर्तन गर्न आग्रह गरे। ‘अहिलेसम्म हामीले त्यस्ता नेताहरूलाई चिनेका छैनौं, चिन्दै नचिनेर भोट हाल्यौं। अब सोच बदल्नुपर्छ, तब मात्र समाज परिवर्तन हुन्छ,’ उनले भने।
माइतीघरमा आयोजित सो कार्यक्रममा सहभागी युवाहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहकर्मीहरूको सम्झनामा दीप प्रज्वलन र सामूहिक भाइटीका कार्यक्रमसमेत आयोजना गरेका थिए।