नेकपा (माओवादी केन्द्र) नेता तामाङः मुलुक विषम परिस्थितिमा, जेनजी आन्दोलनको उपलब्धि सीमित
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित साक्षात्कारमा उनले जेनजी आन्दोलनका सन्दर्भमा यस्तो धारणा राखेका हुन्।
उनले ६ महिनाभित्र निर्वाचन गर्ने मिति तोकेर बनेको अन्तरिम सरकारले निर्वाचन गर्ने वा नगर्ने विषयमा अनिश्चितता कायमै रहेको बताए। नेता तामाङका अनुसार छोटो समयमा भएको जेनजी आन्दोलनको उपलब्धि सीमित रह्यो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बन्नु बाहेक अन्य ठोस उपलब्धि लिन नसकिएको उनले बताए।
उनले सरकारले नागरिक समाज र राजनीतिक दलहरूलाई विश्वास दिलाउँदै चुनाव निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
तामाङले जेनजीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाइरहेको भए पनि माओवादी केन्द्रले २० वर्षदेखि यही विषय संवैधानिक रूपमा समाधान गर्न संसदमार्फत पहल गर्दै आएको उल्लेख गरे। उनका अनुसार जेनजी आन्दोलनको क्रममा संसद् हाइज्याक भएपछि हतारमा संसद् विघटन गरिएको थियो।