भारत–अमेरिका व्यापार सम्झौतामा प्रगति : भन्सार दर घट्ने सम्भावना
६ असोज, काठमाडौं । भारत र अमेरिकाबीच बहुप्रतिक्षित व्यापार सम्झौता चाँडै हुने संकेत देखिएको छ। एक नयाँ रिपोर्टअनुसार भारतका केही प्रमुख निर्यात वस्तुहरूमा अमेरिकाले लगाएको ५० प्रतिशतसम्मको भन्सार शुल्क घटाएर १५ प्रतिशतसम्म सीमित गर्न सक्ने सम्भावना बढेको छ।
वार्तासँग नजिक रहेका स्रोतहरूका अनुसार ऊर्जा र कृषि क्षेत्र यस सम्झौताका मुख्य एजेन्डा हुन्। भारतले यी क्षेत्रमा केही सीमित छुट दिने तयारी गरेको बताइएको छ।
अमेरिकी पक्षले भने भारतले बिस्तारै रूसी कच्चा तेलको आयात घटाउने प्रतिबद्धता जनाउनुपर्ने माग राखेको छ। साथै, अमेरिकाबाट नन्-जीएम (जेनेटिकली मोडिफाइड नगरिएको) मकै र सोयामिलको आयात बढाउने दिशामा भारत सकारात्मक देखिएको छ।
भारतमा तीव्र रूपमा बढिरहेको पोल्ट्री, डेरी र इथेनोल उद्योगमा अमेरिकी उत्पादनको माग बढ्ने भारतको विश्वास छ। भारतीय अधिकारीहरूका अनुसार यसले किसानको हितमा नकारात्मक असर पार्ने छैन। हाल भारतले अमेरिकाबाट वार्षिक करिब ५ लाख टन मकै आयात गर्छ।
तर, भारतले नन्-जीएम मकैमा हाल लागू १५ प्रतिशत भन्सार दर घटाउने कुनै योजना नराखेको स्पष्ट गरेको छ।
अमेरिका प्रिमियम चिज (पनिर) भारतमा प्रवेश गराउन दबाब दिइरहेको छ, तर भारत यसमा अहिलेसम्म सहमत हुन सकेको छैन।
स्मरणीय छ, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिलमा भारतमाथि २५ प्रतिशत र रूसबाट कच्चा तेल खरिद जारी राखेको कारण थप २५ प्रतिशत जरिवाना शुल्क लगाउँदै कुल ५० प्रतिशत भन्सार दर लागू गरेका थिए।
यदि सम्झौता सफल भयो भने, दुबै देशबीचको द्विपक्षीय व्यापार सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।