२५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार
२५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागारबाट फरार
काठमाडौं– विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा (फुच्चे) कारागारबाट फरार भएका छन्। उनी गत भदौ २४ गते राति काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथ देवल) बाट फरार भएका हुन्।
कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नामसमेत समावेश छ। फरार भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी अझै पक्राउ परेका छैनन्, न त कारागारमा नै फर्किएका छन्।
२५ करोडभन्दा बढी नगदसहित पक्राउ
कुसाङ लामा २०८१ चैत ४ गते टोखा क्षेत्रबाट पक्राउ परेका थिए। उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट प्रहरीले १३ लाख ७५ हजार १५० यूरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको थियो। सो विदेशी मुद्राको नेपाली मूल्य करीब २५ करोड १९ लाख रुपैयाँ थियो।
यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामा र नगदसहितको ट्रक राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाएको थियो। विभागको अनुसन्धानमा उक्त रकमका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल रहेको खुल्न आएको थियो।
पौडेल धरौटीमा रिहा, लामा भने पुर्पक्षमा जेल
पक्राउ परेका कुसाङ लामाविरुद्ध विदेशी विनिमय ऐन २०१९ अन्तर्गत २ वैशाखमा मुद्दा दायर गरिएको थियो। उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। अर्का अभियुक्त नारायण पौडेल भने पछि अदालतमा उपस्थित भई ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
यसअघि पनि सुन तस्करीमा पक्राउ
कुसाङ लामा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहिसकेका छन्। उनी २०७३ पुस १३ गते ७ किलो सुनसहित पक्राउ परेका थिए। सो प्रकरणमा दोषी ठहर भई उनी ५ वर्ष जेल बसेर २०७८ मा रिहा भएका थिए।
५ हजारभन्दा बढी कैदी अझै फरार
कारागार विभागका अनुसार लामाजस्तै करिब साढे ५ हजार कैदीबन्दी फरार छन्। यिनको खोजी तथा पुनः पक्राउका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।