महामन्त्री गगन थापा अनुपस्थित, महाधिवेशन कार्यतालिका अस्वीकारपछि असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा थापा नदेखिएका हुन्।
बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्मा बीच छलफल भएको थियो। सो छलफलमा थापाले आगामी मंसिरमा पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउन प्रस्ताव गरेका थिए। तर, कार्यवाहक सभापति खड्काले उक्त प्रस्ताव अस्वीकार गरेपछि थापा बैठकमा उपस्थित नहुन निर्णय गरेको नेताहरूले बताएका छन्।
एक नेताका अनुसार, कार्यवाहक सभापतिसँग कुरा नमिलेपछि थापा बैठकस्थल सानेपाको भर्याङबाटै फर्किएका थिए र अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि महामन्त्री थापालाई बैठकमा नदेखेको पुष्टि गर्दै भने, “बैठकको सुरुवातदेखि अन्त्यसम्म उहाँ देखिनुभएन।”
यसअघि असोज २९ गते बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। तर, संस्थापन पक्षले त्यसमा असहमति जनाएपछि कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश हुन सकेको थिएन।
आजको बैठकमा पनि थापाले सोही प्रस्ताव पुनः पेस गर्ने तयारी गरेका थिए। तर, कार्यवाहक सभापति खड्काले प्रस्ताव पेश भए केन्द्रीय समितिबाट बहुमतका आधारमा निर्णय लिने बताएपछि थापा बैठकमै अनुपस्थित भएको बताइएको छ।
महामन्त्री थापासँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र उनका सहयोगीहरूले पनि केही टिप्पणी गर्न चाहेका छैनन्।