मानव अधिकार आयोगद्वारा सरकार र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन आह्वान
काठमाडौं, ९ कात्तिक – राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ। साथै, आफ्ना मागहरू शान्तिपूर्ण तरिकाले अघि सार्न प्रदर्शनरत पक्षलाई पनि संयमता अपनाउन अनुरोध गरेको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेका छन्। आगामी दिनमा त्यस प्रकारका गतिविधि नहोस् भन्नेमा सबै पक्ष जिम्मेवार हुनुपर्छ।” आयोगले प्रदर्शनमा घुसपैठ हुन नदिन सरकार र प्रदर्शनकारी दुवैको दायित्व रहेको जनाएको छ।
सुरक्षा निकायलाई संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार देखाउन आयोगले आग्रह गरेको छ भने प्रदर्शनरत पक्षलाई घृणायुक्त अभिव्यक्ति र उत्तेजनापूर्ण व्यवहार नगरी शान्तिपूर्ण रूपमा माग राख्न सुझाएको छ।
आयोगले समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुने बताउँदै विधिको शासन, संविधान, कानुन र मानव अधिकारका मूल्य–मान्यताका आधारमा समाधान खोजिनुपर्नेमा जोड दिएको छ।
गत २३ र २४ भदौको आन्दोलनपछि जेनजी समूहले उठाएका विभिन्न मागहरू समयमै सम्बोधन हुनुपर्ने आयोगको भनाइ छ।