वर्षा र हिमपातपछि अन्नपूर्ण आधार शिविर पदयात्रा पूर्ण रूपमा रोक
काठमाडौं । लगातार वर्षा र हिमपातका कारण अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा पूर्ण रूपमा रोक लगाइएको छ। मौसम प्रतिकूल बनेपछि पदमार्गमा रहेका केही पदयात्री माथि उक्लिन वा तल झर्न नसकेर बीचमै रोकिएका छन्।
उनीहरूको सहजीकरण र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहितको टोली खटिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। उद्धार टोली गाउँपालिकासँग समन्वय गर्दै विभिन्न स्थानमा फसिएका व्यक्तिहरूको उद्धारमा जुटेको छ।
उद्धार टोलीका सदस्य इन्द्र शेरचनका अनुसार हिमपातका कारण धेरै स्थानमा पदयात्री फसेको सूचना प्राप्त भएको छ।
अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा वा नजिकको प्रहरी कार्यालय तथा गाउँपालिकाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।