जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन: विद्युत लाइन काटिएको विरोध कार्यक्रममा ढलेर मृत्यु
‘डेडिकेटेड ट्रंक लाइनको बक्यौता नतिरेको’ भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेको विरोधमा आयोजित कार्यक्रममा नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी रहेका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए। उनलाई उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम जिफन्टको नेतृत्वमा सक्रिय थिए। हाल उनको शव क्रिमसन अस्पतालमै राखिएको छ।