त्रिविले नयाँ शैक्षिक सत्रका लागि क्यालेन्डर सार्वजनिक
काठमाडौँ, १२ कात्तिक — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि लागू हुने शैक्षिक सत्रका लागि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार, क्यालेन्डरअनुसार स्नातक तह वार्षिक परीक्षा, सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशनको कार्यतालिका तय गरिएको छ।
स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणालीअनुसार पहिलो सेमेष्टरको परीक्षा २०८२ चैतमा र परीक्षाफल २०८२ असारमा प्रकाशित हुने छ। स्नातक तहको आठ सेमेष्टर कार्यक्रम २०८६ माघमा कक्षा सञ्चालन, २०८७ जेठमा परीक्षा र २०८७ भदौमा परीक्षाफल प्रकाशनको लक्ष्य राखिएको छ।
स्नातकोत्तर तहमा पनि पहिलो सेमेष्टरको भर्ना मङ्सिरमा, प्रवेश परीक्षा पुसमा, कक्षा सञ्चालन माघदेखि, परीक्षा जेठमा र परीक्षाफल २०८३ भदौमा प्रकाशित गर्ने तालिका तय गरिएको छ।
त्रिविले आफ्ना ६४ आङ्गिक र ४४ केन्द्रीय निकायलाई क्यालेन्डरअनुसार कक्षा सञ्चालन र परीक्षा व्यवस्थापन गर्न निर्देशन दिएको छ।