बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ
६ कात्तिक, झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटका क्रममा एक युवकको मृत्यु भएको छ। बुधबार राति सोही ठाउँका ३० वर्षीय जगन राजवंशीको कुटपिटपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का का अनुसार राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनामा संलग्न भएको आरोपमा २६ वर्षीय हेमकुमार चौधरी लाई प्रहरीले शिवशताक्षी नगरपालिका–७ बाट पक्राउ गरेको डीएसपी खड्काले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आपसी विवादकै कारण झगडा भई कुटपिट भएको हुन सक्ने बताइएको छ।