‘अबको राजनीतिक निकास’ विषयक कार्यक्रम बालुवाटारमा सम्पन्न, नयाँ पुस्ताका नेताहरूको साझा पहल
काठमाडौँ । नयाँ पुस्ताका तीन राजनीतिक अगुवा — डा. तोसिमा कार्की, मानुषि यमि भट्टराई र रन्जु दर्शनाको संयुक्त आयोजनामा ‘अबको राजनीतिक निकास’ शीर्षकमा मंगलबार बालुवाटारमा विचार–विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाजका प्रतिनिधि तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे गहिरो छलफल गर्दै अब यथास्थितिवादले ठाउँ नपाउने स्पष्ट सन्देश दिएको बताए ।
डा. कार्कीले नयाँ पुस्ताले विकल्पको होइन, मूलधारको राजनीति गर्ने दायित्वका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । वक्ता र सहभागीहरूले नागरिकहरूमा बढ्दो निराशा र असन्तोषको मूल कारण पहिचान गरी सुशासन, पारदर्शिता र सशक्त नागरिक चेतनाबाट मात्र स्थायित्व सम्भव हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा भदौ २३ र २४ का घटनाबारे पनि छलफल भयो । सहभागीहरूले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनलाई सुसंस्कृत राजनीति र सुशासनको आवाजका रूपमा लिँदै भोलिपल्ट भएका तोडफोड र आगजनीका घटनाको सम्पूर्ण दोष जेनजी आन्दोलनका सहभागीहरूलाई मात्र नदिन आग्रह गरे । साथै, सरकारको दमनकारी व्यवहारबारे छानबिन गरी कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत राखिएको थियो ।
कार्यक्रममा आसन्न निर्वाचनको तयारी, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई सफल बनाउन सबै पक्षले भूमिका निर्वाह गर्नुपर्ने, र २०७२ सालको संविधानको मर्मअनुसार आवश्यक संशोधनबारे संवाद गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएका थिए ।