मनाङमा हिमपातमा फसेका १५ सय नागरिक नेपाली सेनाले उद्धार
१२ कात्तिक, काठमाडौं । मनाङमा परेको भारी हिमपातपछि फसेका १५ सय जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
सेनाका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरूलाई उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये करिब २०० विदेशी पर्यटक पनि रहेका छन्।
नेपाली सेनाले जनाएको छ कि मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको टोली, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको छ। उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा पुर्याइएको सैनिक मुख्यालयले पुष्टि गरेको छ।
सुरक्षा निकायहरूको सक्रियताका कारण कठिन मौसमका बावजुद नागरिक र पर्यटक सबै सुरक्षित रहेको जनाइएको छ।