रौतहटको गौरमा डुबेर ३ बालिकाको मृत्यु
असोज २७– रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। गौर–१ स्थित सीमा क्षेत्र नजिक बाढीमा डुबिएर राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।
घाँस लिनका लागि सात जना बालिकाको समूह गौरतर्फ आउँदै गर्दा बाटोमै बाढीको पानीमा फसेका थिए। डुबेका मध्ये चार जनाको स्थानीयले तत्काल उद्धार गरेका थिए भने बाँकी तीन बालिकाको अवस्था अज्ञात थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य थालेपछि केही समयमै तीनै बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानिय प्रशासनले हाल बाढी र वर्षाको जोखिम कायम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।