लम्जुङमा भ्रष्टाचारविरुद्धको स्वतन्त्र अभियान सम्पन्न, ‘दल होइन, सक्षम व्यक्ति रोजौँ’ मा जोड
लम्जुङ, कात्तिक २ — जिल्लाभर स्वतन्त्रता, जनचेतना र भ्रष्टाचारविरुद्धको सन्देश फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘स्वतन्त्र नागरिक जागरण अभियान’ कात्तिक २ गते समापन भएको छ। दुई दिनसम्म सञ्चालन भएको अभियानले लम्जुङका आठै पालिकामा पुगेर नागरिकलाई सचेत र स्वतन्त्र बन्न आह्वान गरेको छ।
अभियानको पहिलो दिन कात्तिक १ गते सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको थियो। कात्तिक २ गते भने बाँकी रहेका मध्य नेपाल नगरपालिका, बेसीसहर नगरपालिका, क्व्होलासोँथार गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकामा नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो।
अभियानको संयोजन ‘लम्जुङ सेवा शक्ति’ नामक युवाहरूको समूहले गरेको हो। उनीहरूले स्थानीय तहदेखि केन्द्रसम्म फैलिएको भ्रष्टाचारप्रति खबरदारी गर्दै, नागरिक भेला मार्फत स्वतन्त्र नागरिक बन्ने सन्देश फैलाएका थिए।
कार्यक्रममा सहभागी युवाहरूले भने, “अबको आवश्यकता दलमा होइन, व्यक्तिमा निर्भर छ। सक्षम र निडर नेतृत्व नै भ्रष्टाचार नियन्त्रणको कडी हो। त्यसैले अब नागरिकले दल होइन, व्यक्तिको क्षमताको मूल्यांकन गरी नेतृत्व रोज्नुपर्छ।”
अभियानको मूल नारा थियो — ‘दल होइन, सक्षम व्यक्ति रोजौँ।’
‘लम्जुङ सेवा शक्ति’ले यो अभियानलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। समूहका अनुसार जिल्लाको समग्र विकासका लागि नयां, स्वतन्त्र र उत्तरदायी नेतृत्वको खोजी अभियान जारी राखिनेछ।
जिल्लाको इतिहासमा पहिलोपटक सबै पालिकामा पुगेर नागरिक सचेतना अभिवृद्धिका लागि सञ्चालन गरिएको यस अभियानलाई युवाहरूको एक महत्वपूर्ण हस्तक्षेपको रूपमा हेरिएको छ।
लम्जुङमा स्वतन्त्र नागरिक जागरण अभियानले राजनीतिमा नवीन सोच र युवाको संलग्नता बढाएको छ। भ्रष्टाचारविरुद्धको यो स्वतन्त्र आह्वानले जनतामा चेतना र विकल्प छनोट गर्ने आत्मबल जगाएको संकेत मिलेको छ।