कोशी राजमार्गमा टिपर दुर्घटना, दुईजना घाइते
सङ्खुवासभा चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा कोशी राजमार्गअन्तर्गत लेगुवा–सभाखोला सडकमा आज बिहान साढे ११ बजे टिपर दुर्घटना भएको छ। मधेश प्रदेश नम्बर ०३–००१ क २९२६ नम्बरको टिपर दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन्।
घाइतेमध्ये चालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुर ट्याम्केमयुम–९ का २८ वर्षीय रविन फुयाल छन्। प्रहरीका अनुसार, सहचालक फुयाल गम्भीर घाइते भएका छन् र उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने चालक राउतलाई पनि शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते दुबैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।