त्रिविले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक–कर्मचारीलाई ३५ दिनको अल्टिमेटम
१४ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक–कर्मचारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना निकाल्दै नफर्किएका शिक्षक–कर्मचारीबाट २ अर्बभन्दा बढी रकम फिर्ता लिनुपर्ने जनाएको हो। समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनी कारबाही अघि बढाइनेछ।
हालसम्म करिब २५ जना सम्पर्कमा आएका छन् भने ५ जनाले १ करोड ६७ लाख रुपैयाँ फिर्ता गरेका छन्। त्रिविले नफर्किएका शिक्षकहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ।