कांग्रेसको विशेष महाधिवेशन मागकर्ता समूहले बोलायो विशेष भेला
काठमाडौँ–नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर एजेन्डामा नपरेको विरोधमा हस्ताक्षरकर्ता समूहले आइतबार विशेष भेला बोलाएको छ।
हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यका अनुसार भेला साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा राखिएको छ। उनीहरूले हस्ताक्षर बुझाएपछि पनि केन्द्रीय कार्यसमितिमा एजेन्डा नबनेको भन्दै अब कसरी दबाब दिन र अगाडि बढ्ने भन्ने रणनीति बनाउन भेला बोलाइएको बताए।
गत २९ असोजमा कांग्रेस युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। तर, खड्काले त्यसलाई केन्द्रीय समिति बैठकमा जानकारी गराए पनि एजेन्डामा प्रवेश गराइएको छैन।