झापा र रुपन्देहीमा सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ। झापा र रुपन्देही जिल्लामा भएका घटनामा स्थानीय र बाह्य यात्रुहरूले ज्यान गुमाएका छन्।
झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकमा मङ्गलवार राति बा.२ ख १९८३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनकाे आम्दा अस्पताल खरखरेमा उपचारको क्रममा निधन भएको थियो। बसमा सवार एक जना घाइतेको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरूमा सैनामैना नगरपालिका–८ बस्ने ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ बस्ने ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर विक रहेका छन्। गम्भीर घाइते उनीहरूको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको थियो। यस घटनामा घाइते भएका गाडी चालक लगायत अन्य चार जनाको बुटवलस्थित अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगानगरमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकलले पैदलयात्री ३५ वर्षीय सूर्यप्रसाद अधिकारीलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ। घाइते अधिकारीको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेका क्रममा निधन भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुवै जिल्लाका दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।