जेनेभामा राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाली सभामुख डिकबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अस्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग जेनेभामा भेटवार्ता गरेका छन्।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१ औँ महासभाको सन्दर्भमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल गरिएको थियो।
अध्यक्ष दाहालले अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आगामी दिनमा जलवायु परिवर्तन सामना, नवीकरणीय ऊर्जा र स्थानीय सुशासनका क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।
उनले अस्ट्रेलियामा रहेका करिब १ लाख ८० हजार नेपालीमध्ये ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिंदै नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा तथा सहयोगी वातावरणका लागि अस्ट्रेलियाई सरकारलाई धन्यवाद ज्ञापन गरे।
दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान–प्रदानजस्ता क्षेत्र विस्तार गर्न आग्रह गरे।
यसैबीच, अध्यक्ष दाहालले जेनेभामै भारतको संसदीय प्रतिनिधि मण्डल र आईपीयू महासचिवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भेटमा उनले हालैको जेन–जी आन्दोलन, त्यसपछि बनेको अन्तरिम सरकार र तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणमा नेपालको प्रतिबद्धताबारे जानकारी गराए। आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र आगामी निर्वाचनका लागि अन्तर्राष्ट्रिय समर्थनको आग्रहसमेत दाहालले गरेका छन्।