काठमाडौंमा छठ पर्वको तयारी तिब्र, गौरीघाटमा ६१० स्टल तयार
काठमाडौं, कात्तिक ९ — काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी तिब्र रूपमा अघि बढिरहेको छ। विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले राजधानी उपत्यकामा पनि उत्साहपूर्वक मनाउने क्रम बढ्दो छ।
छठ पर्वका लागि बागमती नदी किनार, विशेषगरी गौरीघाट क्षेत्रमा सरसफाइ र सजावटको काम सुरु भएको छ। नदी, पोखरी र तालका किनार सिँगारेर घाट तयार पारिँदैछ। केराका थम्बा, झिलिमिली बत्ती र रंगीन सजावटले घाटहरू आकर्षक बनाइँदै छन्।
गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहका अनुसार यस वर्ष गौरीघाटमा कुल ६१० वटा स्टल तयार गरिएको छ। प्रत्येक स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
छठ पर्व चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत आज दोस्रो दिन ‘खरना’ मनाइँदैछ। भोलि अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने पर्सि उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरिनेछ।
काठमाडौंमा बसोबास गर्ने तराई मूलका समुदायसँगै स्थानीय बासिन्दाहरू पनि छठ पर्वमा सहभागी हुने क्रम बढ्दो छ, जसले उपत्यकामा सांस्कृतिक विविधताको झल्को थप प्रष्ट बनाएको छ।