लुम्बिनी प्रदेशमा बजेट रोक्का र निर्वाचन तयारीबारे मुख्यमन्त्री आचार्यको चासो
अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले विकास बजेट रोक्दा चालु आर्थिक वर्षका लागि विनियोजित योजनाहरू कार्यान्वयनमा समस्या आएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास र खानेपानी जस्ता जनतासँग प्रत्यक्ष जोडिएका परियोजनाहरू बजेट रोक्का हुँदा ठप्प भएको जानकारी दिएका हुन्।
मुख्यमन्त्री आचार्यले भने, “सङ्घीय सरकारले बजेट रोक्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन्। वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ। अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पुर्याउँदैछ? देशको विकास के हुँदैछ?” उनले आगामी दिनमा उपलब्ध साधनस्रोतको सदुपयोग गर्दै जनताको आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले केही व्यक्तिहरू सरकारी कार्यालयमा पुगेर धम्कीपूर्ण व्यवहार र अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरे। “कसैलाई पनि कर्मचारीको मनोबल घटाउने अधिकार छैन। यस्तो कार्य तुरुन्त रोकिनु आवश्यक छ,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै राजनीतिक दलले स्वार्थभन्दा माथि उठेर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले आगामी फागुनमा हुने निर्वाचनको तयारीमा ध्यान दिन वर्तमान सरकारलाई आग्रह गरे।
त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विकले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सबै बामपन्थी र प्रगतीशिल शक्तिहरू एकढिक्का भएर सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र प्रशासनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।