प्रहरी पोसाक’मा मध्यराति चोरी प्रयास
असोज २७ – चितवनको कालिका नगरपालिका–६, सिमलघारी टोलमा सोमबार राति एक समूहले प्रहरी पोसाकजस्तो देखिने कपडा लगाएर चोरी प्रयास गरेको घटना सार्वजनिक भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी प्रयास भएको हो।
मध्यराति घर फर्किएका खतिवडा र उनका भाइ विवेकको ती व्यक्तिहरूसँग जम्काभेट भएको थियो। शंकास्पद गतिविधिपछि जब घर अगाडि पुग्दा अन्धकारमा एक युवक बरण्डाबाट आँगन झर्दै गरेको अवस्थामा देखिएका थिए। डरले बोल्न नसकेको खतिवडालाई ती व्यक्तिले उल्टै भने, “यहाँ कुनै फरार कैदी लुकेको छ रे, कहाँ छ ? हामी प्रहरी हौं।”
तर, घर वरिपरि बालेको बत्ती निभाइएको, मोटरसाइकल सारिएको, हेलमेट–जुत्ता सडक किनारमा राखिएको, झ्यालको पल्ला खोलेको जस्ता गतिविधिले खतिवडालाई शंका बढ्दै गयो। पछि ती व्यक्तिहरू भागेपछि मात्रै उनी चोर रहेकोमा निश्चित भए।
त्यसपछि प्रहरीलाई तत्काल खबर गरिएको थियो। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार, घटना जानकारी पाएलगत्तै राति नै प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान सुरु भएको छ।
घटनास्थलबाट केही टाढा रहेको खतिवडाका काका कालिदास खतिवडाको घरबाट भने *पल्सर मोटरसाइकल* समेत राति नै चोरी भएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले चोरी गर्ने नियतले आएको समूह हुन सक्ने आशंका गर्दै, उनीहरू फरार कैदीसमेत हुन सक्ने कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए। “हामीले सबै कोणबाट अध्ययन थालेका छौं,” एसपी पुरीले भने।
चितवनसहित देशभरका विभिन्न कारागारहरूबाट कैदीबन्दीहरू फरार भइरहेको सन्दर्भमा यो घटनाले थप चासो जगाएको छ। प्रहरी अनुसन्धानपछि मात्र वास्तविकता पुष्टि हुने जनाइएको छ।
स्थानीयवासीलाई रातको समयमा अपरिचित व्यक्तिहरूप्रति सतर्क रहन, घरको सुरक्षा व्यवस्था बलियो बनाउन, र आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।