निर्वाचन सफल बनाउन सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन प्रधानमन्त्री कार्कीको आग्रह
शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा भएको छलफलपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत यस्तो आग्रह गरेकी हुन्।
उनले लेखेकी छन्, "फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं।"
प्रधानमन्त्री कार्कीका अनुसार छलफलमा राष्ट्रपति, गृहमन्त्रीसहितका मन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकमा चारवटै सुरक्षा निकाय — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूबाट निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे जानकारी लिइएको थियो।
प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायहरू उच्च मनोबलसहित निर्वाचन सुरक्षामा तयार रहेको जानकारी गराउँदै चुनावको वातावरण बनाउन राजनीतिक तहबाट पहल सुरु भइसकेको बताएकी छन्।
उनका अनुसार, राजनीतिक दलहरूसँग संवादको प्रक्रिया सुरु गरिएको छ भने सरकार स्वतन्त्र, निष्पक्ष र विश्वासिलो निर्वाचनको सुनिश्चितताका लागि प्रतिबद्ध छ।
चुनावको मिति घोषणा भएपछिको यो उच्चस्तरीय छलफललाई आगामी दिनमा निर्वाचन वातावरण थप सुनिश्चित गर्न गरिएको कदमका रूपमा हेरिएको छ।