रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु
रुकुम पश्चिम — रुकुम पश्चिममा शुक्रबार भएको बोलेरो जीप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ज ४२२ नम्बरको बोलेरो जीप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमास्थित झारमारे मा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् भने चालक टोपजङ बुढा गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्था पुर्याइएको छ।
प्रहरीका अनुसार जीप जिल्ला सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा सिट क्षमताभन्दा अधिक यात्रु राखिएकाले जीप अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीयबासीको सहकार्यमा उद्धार कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयबाट थप टोली पनि घटनास्थलतर्फ पठाइएको छ।
दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।