श्रममन्त्री सिफारिस खगेन्द्र सुनारमाथि ठगीदेखि विवाहेत्तर सम्बन्धसम्मका आरोप
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारबारे थप विवादित विवरण सार्वजनिक भएका छन्। प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा पक्राउ परेर थुनामा समेत बसेका व्यक्ति हुन्।
कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। उनले २०७७ सालमा नारायण नगरपालिका–१ मा म्यानपावर कम्पनी खोलेर युवालाई वैदेशिक रोजगारीका लागि पठाउने काम थालेका थिए। तर, कम्पनी सञ्चालनको एक वर्षभित्रै ठगीका उजुरी दर्ता भएपछि उनी पक्राउ परेका थिए। प्रहरीले हत्कडी लगाएको अवस्थाको तस्बिरसमेत सार्वजनिक गरेको थियो।
स्रोतका अनुसार उनले पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म ठगेको उजुरी परेको थियो। तीमध्ये कतिपय पीडितले अहिले उनी मन्त्री बन्ने सम्भावनासँगै पैसा फिर्ता हुने आशा व्यक्त गरेका छन्।
यस्तै, जिल्ला अदालत काभ्रेले २०८० असारमा सुनारलाई ‘पटके कसुर’मा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जुन अहिलेसम्म उनले तिरेका छैनन्।
सुनारकी पत्नी राष्ट्रिय अनुसन्धान विभागकी अधिकृत हुन्। उनीहरूका एक छोरा छन्। तर, दाम्पत्य सम्बन्ध राम्रो नरहेको उनका निकट स्रोतहरूले बताएका छन्। श्रीमती हुँदाहुँदै पनि उनले विभिन्न महिलासँग विवाहेत्तर सम्बन्ध राखेको आरोप लाग्दै आएको छ।
प्राप्त विवरणअनुसार करिब १० वर्षअघि विवाह गरेका सुनारले सुर्खेतकी एक विवाहित महिलासँग सम्बन्ध राखेका थिए, जसका श्रीमान् विदेशमा छन्। त्यसबाहेक काठमाडौंमा एक युवतीसँग लिभ–इन सम्बन्धमा बसेका सुनारले विवाह गर्ने आश्वासन दिएर पछि नमानेपछि ती युवतीले महिला आयोगमा उजुरी दिएकी थिइन्। अर्की एक महिलासँग पनि सम्बन्ध राखी उनको पैसा हडपेको आरोप सुनारमाथि लागेको छ।
सुनारको नाम श्रम मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस भएलगत्तै यी विवादित विषयहरू सार्वजनिक भएपछि उनको नियुक्ति प्रक्रियामै प्रश्न उठेको छ।