काभ्रेपलान्चोकको बीपी राजमार्ग अवरुद्ध, लेदो र ढुङ्गा खस्दा यातायात ठप्प
धुलिखेल, १४ कात्तिक — वर्षाका कारण बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा सडक अवरुद्ध भएको छ। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा आज सडक माथिबाट लेदो र ढुङ्गा खस्दा सडक दुवैतर्फ रोकिएको हो।
रोशी–७ स्थित चार सय बेँसी, वडा नं ९ का बिरुवा डाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा लेदो र ढुङ्गा खस्दा आवतजावत प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिएका छन्। अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको बताइएको छ।
जोखिम न्यून पार्न स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी बाहेक अन्य सवारी साधनको आवतजावतमा रोक लगाएको थियो।