गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध दायर रिटमा कारण देखाउन आदेश
गत भदौ २३ र २४ गतेको जेएनजे आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ।
रिट निवेदकको आरोप अनुसार, आयोगका दुई पदाधिकारी पूर्वाग्रही रहेको र विषयवस्तुमा तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसबारे प्रश्न उठाउन नसकेको बताइएको छ।
पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गर्नु न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन भएको रिटमा उल्लेख छ।
अध्यक्ष कार्कीले आफैंले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनु पनि स्वच्छ सुनुवाइको सिद्धान्तको उल्लङ्घन भएको रिटमा भनिएको छ।
निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनीहरूलाई अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
जेएनजे आन्दोलनपछि भएको जनधनको क्षतिबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।