जेनजी आन्दोलनमा फरार ५५४७ कैदी खोजी गर्न कार्यदल गठन, ६४८ विदेशी कैदी अझै फरार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट छिमेकी राष्ट्र भारत र चीनसहित विभिन्न देशका कैदीहरू फरार भएका छन् । यसमध्ये ५४० जना भारतीय नागरिक र १०८ जना अन्य देशका नागरिक रहेको कारागार व्यवस्थापन विभागले जानकारी दिएको हो ।
फरार भएका कैदीबन्दीमध्ये ९,००८ जना फिर्ता भइसकेका छन् भने अझै ५,५४७ जना कैदीबन्दी फरार रहेका छन्। ती फरार कैदीबन्दीहरूलाई खोजी र नियन्त्रण गर्न गृह मन्त्रालयले असोज १० गते निर्णय गर्दै जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ।
मन्त्रालयले असोज २६ गतेको निर्णयअनुसार फरार कैदीबन्दीहरूको नामावली कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।
साथै, सार्वजनिक निकायमा सेवा लिन आएका फरार कैदीबन्दी भेटिए तत्काल पक्राउ गरी कारागारमा फिर्ता ल्याउन निर्देशन दिइएको छ।