विप्लव समूहभित्र फुट : मिलन सी पक्ष माओवादीसँग एकताको पक्षमा
१४ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र एकता विवाद चर्किँदै गएको छ । पार्टीका एक पक्षले माओवादी केन्द्रसहितको एकताको पक्ष लिँदै छुट्टै लाइन लिएको छ ।
चिरन पुन ‘मिलन सी’को नेतृत्वमा शुक्रबार बसेको भेलाले समाजवादी मोर्चामा रहेका दलहरूबीच एकता गर्नुपर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग सहकार्यको पक्षमा उभिएको छ ।
मिलन सीका अनुसार पार्टीका १४५ केन्द्रीय सदस्यमध्ये ७५ जना समाजवादी मोर्चामा उभिएका छन् । भेलाले विप्लवलाई पनि माओवादीसँगको एकता प्रक्रियामा छिट्टै सहभागी हुन आह्वान गरेको छ ।
तर विप्लव भने निर्वाचन आयोगमा नयाँ “कम्युनिस्ट पार्टी नेपाल” नामक दल दर्ता गराउने तयारीमा छन् । उनले हालको सरकारको निरन्तरतासँगै माओवादी र समाजवादी एकता प्रक्रियामा अगाडि बढ्ने संकेत दिएका छन्, तर सर्वपक्षीय सरकार गठनको पक्षमा आफूहरू रहेको भन्दै तत्काल माओवादीसँग एकता नगर्ने अडान लिएका छन् ।
विप्लवले एकता प्रक्रियामा ढिलाइ गरेपछि मिलन सी पक्षले छुट्टै भेला गरेर माओवादीसँग एकता गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
मिलन सी पक्षले भोलि पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।