चाबहिलमा ‘तरकारीवाला’ कृष्ण अधिकारीको फूलमालामा विवाद, ग्राहक आक्रोश
काठमाडौं — चाबहिलस्थित तरकारी पसल सञ्चालन गर्ने कृष्ण अधिकारी सामाजिक सञ्जालमा ‘तरकारीवाला’ भनेर भाइरल भएका थिए। उनले टिकटकमा सयपत्री फूलको माला ६० रुपैयाँमा बिक्रीमा रहेको प्रचार गरेपछि धेरै ग्राहक पसलमा पुगे। तर पसलमा पुग्दा मालाको मूल्य धेरै महँगो देखिएपछि ग्राहकहरू आक्रोशित भएका छन्।
ग्राहकहरूले माला सस्तो पाइने आशामा पसलमा ठुलो भिड जम्मा गरे पनि मालाको वास्तविक मूल्य ४–५ सय रुपैयाँ रहेको जानकारी पाएपछि विवाद सुरु भयो। केही ग्राहकहरूले पसलमा तोडफोड गरेका थिए भने केहि सामान बाहिर फ्याँकिएको देखिएको छ। भिड नियन्त्रण गर्न प्रहरीलाई बोलाउनु परेको थियो।
एक ग्राहकले भने, “माला सस्तो पाइने सुनेर धेरै ग्राहकहरू आएका थिए। यस्तो झूटो प्रचारले समस्या भयो।” अर्की एक महिला, जो गोकर्णबाट चाबहिल आएको थिइन्, भनिन्, “डेढ सय–दुई सयमा भए पनि खुसी बनाइदिने हो भने यस्तो घटना हुन्थेन।”
स्थिति असामान्य भएपछि पसल सञ्चालकले सटर बन्द गर्नुपरेको थियो। वरपरका पसल सञ्चालकहरू पनि यस घटनाबाट प्रभावित भएका छन्।
प्रहरीका अनुसार, आवश्यक कारबाही अघि बढाइएको छ र आगामी दिनमा यस्ता झूटो प्रचारबाट बच्न सबैलाई सचेत रहन आग्रह गरिएको छ।