माधवकुमार नेपाल: संकटको बेलामा कांग्रेस-एमालेले राष्ट्रपतिसँगको सहयोगको मूल्य नदिए
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश संकटमा परेको समयमा आफूहरूले राष्ट्रपतिलाई सहयोग गरेका भए पनि कांग्रेस र एमालेले त्यसलाई महत्व नदिएको बताएका छन्।
सुकेधारामा बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले भने, “घटनाक्रमले स्पष्ट देखाएको छ। संकटको बेला राष्ट्रपतिले हामीलाई सम्झना गरे, बोलाए। राति ९ बजेदेखि ४ बजेसम्म हामी राष्ट्रपति भवनमा थियौं। कांग्रेस र एमाले त्यहाँ उपस्थित भएनन्। त्यसैले कसैले १० वटा नकारात्मक कुरा गरे पनि त्यसको दुई कौडीको पनि मूल्य छैन।”
उनले थपे, “संकटको समयमा हामीले संविधान र गणतन्त्र जोगाउनुपर्छ, राष्ट्रपति संस्थाको सम्मान राख्नुपर्छ भन्ने कुरा अघि राख्यौं। राष्ट्रपतिले हाम्रो भूमिका स्वीकारिसकेका छन्। हाम्रो योगदानले मनोबल बढेको र प्रतिकूलतालाई चिर्ने साहस आएको छ।”
नेपालले संसद् विघटन र प्रधानमन्त्री नियुक्तिको विषयमा भएको बहस र वार्तामा आफ्नो पार्टीले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन दिएको समेत बताएका छन्।