मधेस प्रदेशमा छठको अवसरमा मंगलबार पनि सार्वजनिक बिदा
धनुषा — मधेस प्रदेश सरकारले*छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक ११ गते (मंगलबार), अर्थात् उदाउँदो सूर्यको दिन, प्रदेशभर बिदा हुने जनाएको हो।
उपसचिव गणेश नायक द्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय २०८१ चैत २२ गतेको प्रदेश राजपत्रमा समावेश थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो। हालसम्म छठ पर्वमा केवल अस्ताउँदो सूर्यको दिन मात्र बिदा दिइँदै आएकोमा नागरिकको मागअनुसार यसपालि अर्को दिन पनि बिदा दिइने भएको हो।
यस निर्णयसँगै मधेस प्रदेशका सबै सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक निकायहरू मंगलबार बन्द रहनेछन्।
छठ पर्व मिथिला क्षेत्रका हिन्दू महिलाहरूले सूर्यदेव र छठ मइयाको आराधना गर्दै धूमधामका साथ मनाउने प्रमुख सांस्कृतिक पर्व मानिन्छ।