**जेनजी आन्दोलनको क्रममा फरार कैदी पाल्पामा पक्राउ**
पाल्पा, कात्तिक ९ — जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते नवलपरासी कारागारबाट फरार भएका कैदी श्याम भनिने समीर गुरुङ पाल्पामा पक्राउ परेका छन्।
कारागार कार्यालय नवलपरासीमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका २८ वर्षीय गुरुङ कास्की पोखरा महानगरपालिका–२ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई तानसेन नगरपालिका–१० साडिखोलाबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका गुरुङलाई पुनः कारागार कार्यालय नवलपरासी पठाएको छ।