ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु
काठमाडौँ, कात्तिक १४ —मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा खसेको सूचना पाएलगत्तै डिभिजनका प्राविधिक र प्रहरी टोलीले घटनास्थल पुगेर मेशिनको सहयोगमा सडक खुलाएका हुन्। अहिले दुबै तर्फका सवारी साधन आवागमन सुचारु भएका छन्।
ढुंगाहरू झर्ने क्रम रोकिएपछि मात्रै पहिरो हटाउने कार्य गरिएको कार्यालयले जनाएको छ। तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिम कायम रहेको भन्दै सडक प्रयोग गर्दा विशेष सतर्कता अपनाउन चालक र यात्रुलाई आग्रह गरिएको छ।