पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै भक्तजन, एकै दिन ६ हजारभन्दा बढीले गरे दर्शन
ताप्लेजुङ कात्तिक ९ ,— ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यस यामकै सबैभन्दा धेरै भक्तजनको भीड देखिएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार मात्र ६ हजार ३९३ जनाले देवी पाथीभराको दर्शन गरेका छन्।
समितिले जनाएको छ कि बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लामो लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए। दसैँ–तिहारको अवसरमा देशभरका श्रद्धालुहरू मन्दिरमा दर्शनका लागि पुगेका हुन्।
पाथीभरा मन्दिरमा वर्षभर भक्तजनको आगमन हुने गरे पनि दसैँ, तिहार र चैतेदसैँको समयमा विशेष भीड हुने गर्दछ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यसअघि गत असोज महिनाभर २९ हजार १७४ जनाले पाथीभराको दर्शन गरेका थिए।
“आज पनि बिहानैदेखि दर्शनार्थीको लामो लाइन लागेको छ,” हाङबाङले बताए, “दसैँ–तिहारपछि पाथीभरा दर्शनका लागि आउने भक्तजनको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।”
पाथीभरा देवी नेपालको पूर्वी क्षेत्रको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। स्थानीय प्रशासनले भक्तजनको सुरक्षाका लागि ट्राफिक व्यवस्था, सरसफाइ र आवागमन सहज बनाउन विशेष व्यवस्था मिलाएको बताइएको छ।