नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आजदेखि, अध्यक्ष माधव नेपाल सुरक्षाविना सहभागी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक बुधबारदेखि सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सुरक्षाकर्मी विना नै बैठकस्थल पुगेका छन्।
सरकारले मंगलबार पूर्वप्रधानमन्त्री नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
पूर्वप्रधानमन्त्रीको रूपमा नेपाललाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी उपलब्ध गराइएको थियो। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएपछि अध्यक्ष नेपाल रिहा भएका थिए।
यसैबीच, जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा पार्टीका प्रमुख छ विषयमा छलफल हुने भएको छ। ती विषयहरूमा मुलुकको वर्तमान राजनीतिक स्थिति, जेनजी आन्दोलन, आगामी निर्वाचन तयारी, आन्तरिक संगठन सुदृढीकरण, नयाँ मनोनीत केन्द्रीय सदस्यहरूको शपथ तथा राजनीतिक एजेण्डा समावेश छन्।
बैठकमा पार्टी एकता कार्यदल समितिले पनि आफ्नो प्रगतिबारे प्रतिवेदन पेश गर्नेछ। उक्त कार्यदल नेता बेदुराम भुसालको नेतृत्वमा गठन गरिएको हो, जसले हाल माओवादी केन्द्रसहितका वामपन्थी दलहरूसँग पार्टी एकताका लागि वार्ता गरिरहेको छ।
पार्टीका स्रोतका अनुसार बैठकले संगठनात्मक सुधार र आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।