शोक मनाउन आज देशभर सार्वजनिक विदा, राष्ट्रिय झण्डा आधा झुकाईनेूु
सरकारले आज असोज १ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको भदौ ३० गते बसेको बैठकले २०८२ भाद्र २३ र २४ गते जेन जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोहि अनुसार आज बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाईने गृह मन्त्रालयले जनाएको छ।
भदौ ३० को मन्त्रिपरिषदको बैठकले जेन जी आन्दोलनसँग समबन्धित निम्न ८ वटा निर्णय गरेको थियो ।
१. आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने,
२. मृतकको राष्ट्रिय सम्मानको साथ अन्त्यष्टि गर्ने,
३. असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने ।
४. मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्चको लागि ५ लाख गरि कुल १५ लाख क्षतिपूर्ति दिने,
५. घाइतेहरुको निशुल्क उपचार गर्ने,
६. शव सम्बन्धित ठाउँमा लैजान निशुल्क यातायात (दुर्गममा हेलिकप्टर) सेवा उपलब्ध गराउने,
७. मृतक भएकाहरुको स्मरणमा जेनजी जागरण स्मरण पार्क बनाउने,
८. जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय